गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका स्थानीयवासी दीपक कार्कीले बताए । उनले भने, ‘बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहन्छौँ, राति राम्रोसँग निदाउन सकिँदैन ।’
यसैगरी ५२ घर रहेको रघुगङ्गा–८ चौरखानीमा ३० परिवारको बसोबास छ । पहिराकै त्रासले आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा बसाइँ सरेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिरोले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केको वडासदस्य यामकुमारी घर्तीले बताइन् ।
दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए ।
यस्तै रघुगङ्गा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए ।
‘पानी पर्न थालेपछि यहाँका बासिन्दा राति सुत्न सक्दैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका बासिन्दा चिन्तित छौं’ उनले भने । कमजोर भ–ूभागमा सडक बनाउन डोजर प्रयोग गरिँदा झन जोखिम बनेको छ । जथाभावी भत्काउँदा त्यसपछि संरक्षणका लागि पर्खाल र नाली समयमै नबनाउँदा पूरै पाखो खस्ने अवस्थामा छ ।
वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा बस्न थालेका स्थानीयवासी तिलबहादुर पुनले बताए । दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको हो ।
हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित छन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, बाढी व्यवस्थापन र बस्ती संरक्षणको काम हुन नसक्दा बस्ती जोखिममा छन् ।
यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् । गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडक खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको छन् ।
चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो । अहिले त्यसको नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्