पोखरा/ पोखराको चिप्लेढुङ्गास्थित शिला फेन्सी स्टोर्सका संचालक छविलाल गौतम १५ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । आफ्नै फेन्सी स्टोर्समा जागिर लगाइदिने भन्दै नाबालिगलाई बुधबार विहान बोलाएर यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडित परिवारले दिएको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइसकेको छ ।
शिला फेन्सी स्टोर्समा जागिर खुलेको थाहा पाएपछि उनी त्यहाँ पुगेकी थिइन् । गौतमले विहान ८ बजेदेखि साँझ ७ बजेसम्म काम गर्नुपर्ने भन्दै असार १५ गतेदेखि हाँजिर हुन भनेका थिए । पीडित नाबालिग बुधबार विहान ८ बजे नै उक्त फेन्सी स्टोर्स पुगेकी थिइन् ।
विहान साँढे ८ बजेतिर स्टोर्सका संचालक गौतमले काम सिकाउने भन्दै पीडित नाबालिगलाई माथिल्लो तलामा लिएर गए । माथिल्लो तलामा लैजाने क्रममा गौतमले नाबालिगको संवेदनशील अंगमा हात लगेर यौन दुव्र्यवहार गरेको पीडित परिवारले जनाएका छन् ।
नाबालिग चिच्याएपछि आजकलको जमानामा यस्तो कुरा समान्य भएको भन्दै गोतमले फकाउन खोजेको उनीहरुको भनाइ छ । उक्त घटनापछि नाबालिगले परिवारलाई गएर घटनाबारे जानकारी गराएकी थिइन् । सोही आधारमा प्रहरीमा जाहेरी दिएको पीडित परिवारले बताएका छन् । प्रहरीमा जाहेरी दिएको २ घण्टाभित्रै गौतम पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्