बिगतमा थोरै बजेट बिनियोजन हुंदा पनि जिल्लाको बिकास भनेझै गरी गर्न पाइएन भन्थे गणतन्त्र आउनुभन्दा अगाडिका नेता जनप्रतिनिधिहरुले । तर गणतन्त्रपछि मुस्ताङमा बिकासको लागि बजेटको ओइरो लागेको लागै छ तर पनि जनता खुशी हुने गरी परीणाम देखिएको छैन यो के हो । तलदेखि माथिसम्म सेटिङमा चल्दा कमीसनको खेल खेल्दाको अवस्थाले कम्सल खालको बिकास हुन पुगेछ । सरकारले कम दस्तरमा जसले टेण्डर हाल्छ उसैलाई ठेक्का दिने , पहिलो ठेक्दारले कमीसन खाएर दोस्रो ठेक्दारलाई ठेक्का बेचिदिने , तेस्रो ठेक्दारले कमीसन खाएर पेटी ठेक्दारलाई काम दिने गर्दा बिकासले अर्थ राखेन । प्राबिधिक र कर्मचारीहरु असार महिना कहिले आउला भनी गीद्धले सिनो कुरेझै गरी कमीसन खाएर योजना पास गरीदिन्छन् भएन त समृद्धि ।
गैर राजनैतिक पृष्टभूमिबाट आएका ब्यक्तिहरु जनप्रतिनिधि त्यसमाथि ठेक्दार भएसी उनीहरुबाट के कामको अपेक्षा राख्ने हो । दोहोरो चरित्र भएकाबाट मुस्ताङ बिगतदेखि आजसम्म चलिरहेको छ यो स्थिति कहिलेसम्म । यस्तै यस्तै कारणबाट यस जिल्लामा बिकासले गति लिन नसकेको तितो सत्य हो । जबसम्म यसको अन्त्य हुंदैन बिकास खोलामा बजेट कर्मचारी र ठेक्दारको झोलामा हुने गरेको छ । योजनाको काम किन कमसल हुन्छ यसको बिषयमा सबै जानकार छन् तर गोजीमा कमिसन नआउला भन्ने पिरले सबै चुपचाप बसेका हुन्छन् । ब्यक्तिवाद , नातावाद , कृपावाद , जातिवाद , समुदायवाद , कर्मचारीवाद र ठेक्दारवादको कारण सरकारी धन कोदालीले खन भएको छ , यहां खबरदारी गर्ने निकायहरुको खांचो छ ।
पटक पटक एउटै ब्यक्तिहरु समितिको अध्यक्ष , सांसद , मन्त्री , प्रधानाध्यापक किन र कसरी बन्छन् जनताले खोज्ने बेला आएको छ । मुस्ताङमा रहेको सबै जातजाति र समुदाय भित्र एकथरी आकाश छुने धनी अर्कोथरी जमिनमा हराउने गरीब । किन भएको र उनीहरुले कसरी अकुत सम्पति कमाए अनेकतामा एकता किन हुनसकेन जन चासोको बिषय हो । क कसले कहांबाट राज्यको धन दोहन गरेका छन् अब स्थानीय बासीहरुले खोजी गर्न जरुरी हुन्छ । आ आफ्नो क्षेत्रबाट सही या गलत के कस्तो काम भएको छ जन मुल्यांकन गर्न एकजुट हुन जरुरी छ । मुस्ताङलाई यही गतिमा छोड्ने हो भने उनै र तिनैलाई हाली मुहाली गर्न दिए हुन्छ । तर अरु जिल्लाको दांजोमा नमूना जिल्ला बनाउने हो भने जिल्लाका युवा शक्ति फरक ढंगबाट जानु पर्ने देखिन्छ । नत्र मुस्ताङमा बजेटको ओईरो बिकासमा बर्षेनी पहिरो मात्र जाने छ ।
प्रतिक्रिया दिनुहोस्