काठमाण्डौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सत्ता समीकरण फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार दोस्रोपटक विश्वासको मत लिएका हुन् । विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे । मत दिन्न अर्थात् तटस्थमा एक मत परेको छ ।
संसद बैठकमा २ सय ६२ सांसद उपस्थित रहेका थिए । पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
त्यतिबेला ९९ प्रतिशत सांसदको मत पाएका प्रचण्डले तत्कालीन सत्ता समीकरण बदलिएसँगै साढे २ महिनामा दोस्रो पटक विश्वासको मत लिने अवस्थामा पुगेका हुन् ।यसपटक प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी बाहेकका सबै दलको मत पाएका हुन् ।
सरकार टिकाउन १ सय ३८ सांसदको मत आवश्यक पर्दछ । एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय झण्डै एक महिनादेखि प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालिरहेका छन् । विश्वासको मत लिएलगत्तै प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्