मंसिर,२१ जोमसोम/ नेपाल—चीन सीमा स्तम्भको संयुक्त सुरक्षा गस्ती गरिएको छ । सशस्त्र प्रहरीको नेचुङ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) र चाईना ईमिग्रेसनका सुरक्षाकर्मीले लोमान्थाङ गाउँपालिकासंग जोडिएको २३ र २४ नंं सीमा स्तम्भको संयुक्त सीमा सुरक्षा गस्ती गरेका हुन् ।
सहायक प्रहरी निरीक्षक कर्णबहादुर विकको नेतृत्वमा ४ जना र चाईना ईमिग्रेसनका तर्फबाट चाईनिज पिपुल्स आर्मी पुलिसका ईन्सपेक्टर मेउ टङ्गीको नेतृत्वमा १० जनाको संयुक्त सुरक्षा टोलीले सीमा स्तम्भको गस्ती गरेको हो ।
सीमा स्तम्भको अवस्था,सिमा क्षेत्रमा हुने गतिबिधि माथि निगरानी तथा सीमा क्षेत्रमा हुनसक्ने संम्भावित अवान्छित गतिविधि नियन्त्रणका लागि नेपाल र चीनका सुरक्षा टोलीले संयुक्त गस्ती गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक बिजय हमालले जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङसंग सीमाना जोडिएका १६ वटा सीमा स्तम्भहरुको एक पक्षिय र संयुक्त सुरक्षा गस्ती गर्ने गरिएको उनले बताए । गएको सोमबार त्यस क्षेत्रमा सिजनकै पहिलो हिमपात भएको थियो । हिमपातले उपल्लो मुस्ताङ तथा नेपाल—चीन सीमा क्षेत्रमा पुरै हिउँले ढाकेको गस्तीमा खटिएका सशस्त्रका प्रहरी सहायक निरीक्षक विकले जानकारी दिए। हिमपात संगै तापक्रम माईनस २० डिग्रीमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्