२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

बालकुमारी झडपमा गम्भीर घाइते अर्का युवकको पनि पाटन अस्पतालमा मृत्यु

 

१३ पुस, काठमाडौं । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।  कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ । पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।

प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो । सो घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्