२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धन

 

२१ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ ।‘अहिले त्यो विषय (एमालेसँग सहकार्यको) छैन, गठबन्धनकैबीचमा सिटको बाँडफाँट हुन्छ’, उनले भने, ‘गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’

बृहत लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि अहिले सम्भव नभएको नेता लेखकले बताए । ‘अहिले प्रमुख प्रतिपक्षले पनि १९ सिटमै चुनाव लड्ने निर्णय गरेको अवस्था भएको हुनाले सत्ता गठबन्धनले पनि गठबन्धनबाटै चुनाव लड्छ’, उनले भने ।

आजको बैठकमा सत्ता गठबन्धनमा आबद्ध ४ दलका नेताहरू सहभागी थिए । बैठकमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बाँडफाँडबारे सहमति नजिक रहेको उनले बताए । यसका लागि सत्ता गठबन्धन दलहरूबिच साँझ ५ बजे छलफल हुने उनले बताए ।

लेखकले भने–‘आज साँझ ५ बजे सत्ता गठबन्धनका सबै दलहरू बसेर छलफल गर्ने कार्यक्रम छ । सत्ता गठबन्धन सिङ्गै एउटा मोर्चामा लड्ने भएपछि उम्मेदवार बाँडफाँड पनि गर्नुपर्नेछ । सत्ता गठबन्धनमा आबद्ध ७ दल र सहयोग गरिरहेको अर्को एउटा दल समेत गरेर ८ दलको बैठक बस्नेछ ।’

प्रतिक्रिया दिनुहोस्