युवा पुस्तालाई गाउँपालिकाको नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले घरपझोङ गाउँपालिकामा नमुना युवा संसद अभ्यास अन्तर्गत गाउँसभा सञ्चालन गरिएको छ ।
‘समृद्ध नेपाल निर्माणका लागी स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ घरपझोङ गाउँपालिका स्तरीय नमुना युवा गाउँसभा अभ्यास प्रशिक्षण कार्यक्रम गरिएको हो । युवाहरुले घरपझोङ गाउँपालिकाको कार्यपालिका सभाहलमा गाउँसभाको अभ्यास गरेका हुन् ।
सभाहलको ड्यासमा अध्यक्षको बायाँतिर उपाध्यक्ष, दायाँतिर सचिव र अगाडी गाउँपालिकाका सदस्यहरु बसेका थिए भने देब्रेतिर सञ्चारकर्मी बसेका थिए । गाउँसभा बैठक जस्तै देखिने यो दृश्य भने घरपझोङ गाउँ कार्यपालिकाको कार्यालयले पहिलोपटक आयोजनामा गरेको नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको हो ।
कर्यक्रममा अध्यक्षमा आदित्य रसाइली र उपाध्यक्षमा रोशनी बिकले भूमिका निर्वाह गरेका थिए । यसैगरी डानियल बागदास, सुरेश बि.क, अप्सरा थकाली, रोहित थकाली लगायत २९ जना सहभागी युवाहरुले गाउँपालिकाको कार्यपालिका सदस्यको भूमिका निर्वाह गरेका थिए ।गाउँसभा अभ्यासको क्रममा सभा सदस्यहरुले मुस्ताङ जिल्ला पर्यटकीय क्षेत्रको विस्तारमा होमस्टे, पर्यटकीय मार्ग, जिल्लामै उत्पादित जडिबुटीको प्रशोधन र बजारको व्यवस्था, कृषिमा युवा जागरुकता, स्वरोजगार, घरेलु व्यवसाय, वैदेशिक रोजगारलाई निरुत्साहित गरी स्वदेशमै रोजगारको सिर्जना लगायतका सुझाव राख्नुको साथै गाउँपालिकाको आर्थिक नीति, विधयेक, कर लगायतका बारेमा संशोधन मागसहित सुझाव पेश गरेका थिए ।
गाउँसभामा सबैको प्रतिनिधित्व हुने गरी समावेशी कार्यपालिका सदस्य गठन गरिएको थियो । सहभागीहरुले मर्यादित भएर आफ्ना कुराहरु कसरी राख्ने लगायतका कुराहरु सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाई भएको बताएका छन् ।
समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य बिकल शेरचनले गाउँपालिकाका युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेको धारणा राखेका थिए । प्रदेशसभा सदस्य शेरचनले आफ्नो कर्तव्यमा युवालाई अग्रसर बनाउँदै गाउँपालिकालाई सुझाव दिन सक्ने युवा तयार पार्नका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए । यस्तै कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मोहन सिहं लालचनले भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवश्यक रहेको बताए । कार्यक्रममा जिसस मुस्ताङका उपप्रमुख आइतेलाल थकाली, प्रशिक्षक अभिनास कार्कीले आ आफनो भनाई राखेका थिए । नमुना युवा संसद अभ्यासद्वारा घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा चयन भएका आदित्य रसाइलीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले युवा अवस्थामा यस्तो खाले तालीम प्रयोगात्मक हुदाँ युवालाई गाउँपालिकाको निति निमार्णमा समेत सहज भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । यस्तै, सभामा गाउँपालिकाकी उपाध्यक्ष चयन भएकी रोशनी बि.कले वार्षिक बजेट वक्तव्य पेश गरेकी थिईन् ।गाउँपालिकाभित्रका १६ वर्ष देखि २४ वर्ष उमेरका ३१ जना तन्नेरी युवाहरुले फाल्गुण २७ गतेदेखि ३० गतेसम्म गाउँपालिका चलाउने गाउँसभा अभ्यास गरेका थिए ।
नमुना संसद अभ्यासमा गाउँपालिकाकी उपाध्यक्ष जमुना थापा मगर , प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी , वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा गाउँपालिका स्तरीय युवा संञ्जालको गठन गरिएको छ ।आदित्य रसाइली अध्यक्ष रहेको संञ्जालको उपाध्यक्षमा स्रेस्ता बि.क,सचिवमा सुदिप थकाली,कोषाअध्यक्ष राहुल थकाली र सदस्यहरुमा रोशनी बि.क,अनिल परियार ,अन्जन परियार ,मुक्ति बि.क र प्रतिक थकाली चयन भएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हिमलाल शर्माले जानकारी दिए ।कार्यक्रम जिल्ला युवा समिती मुस्ताङका अध्यक्ष समिप शेरचनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्