२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

पोखराको प्याराग्लाइडिङ व्यवसाय लयमा फर्काउन ‘ना’ को प्रयास

पोखरा । पोखरास्थित फेवातालमाथिको आकाशमा चरा जसरी उडेको देखिने प्याराग्लाइडिङ आजभोली देखिदैन । पोखरा आउने कतिपय पर्यटकहरूलाई त हाल प्याराग्लाइडिङ कहाँबाट उड्छ भन्ने नै थाहा हुँदैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै झन्डै अढाईदशकदेखि सराङकोटको आकाशमा उडिरहेको प्याराग्लाइडिङ हटेर सराङकोट भन्दा पाँच किलोमिटर पश्चिमको मान्द्रेढुंगा र तोरीपानीमा सरेको छ ।

हाल मान्द्रेढुंगाबाट उडान भरेर प्याराग्लाइडिङहरू पामेस्थित हर्पनखोलाको किनारमा अवतरण हुन्छ । नेपाल हवाई खेलकुद संस्थान (ना) का अध्यक्ष अनिल केसी नेपाल नागरिक उड्यन प्राधिकरणले मान्द्रेढुंगाको आकाशमा प्याराग्लाइडिङ उड्न पाउने गरि अनुमति दिएपनि पोखरा उपत्यका, फेवाताल र हिमालको दृष्य खासै नदेखिने हुनाले मान्द्रेढुंगाबाट व्यवसायिक उडान त्यति फस्टाउन नसकेको बताउँछन् ।

अध्यक्ष केसीका अनुसार पोखराको आकाशमा कुनैबेला दैनिक एक हजारसम्म प्याराग्लाइडिङ उडान हुने गर्दथ्यो भने एक पाइलटको भागमा दैनिक तीन फ्लाइटसम्म पर्ने गर्थ्यो । तर हाल नेपाल हवाई खेलकुद संस्था (ना) मा आबद्ध २ सय ९५ जना पाइलटहरूलाई दैनिक एक उडान पाउन पनि मुस्किल रहेको र कतिपय पाइलटहरू पलायन हुन बाध्य भएको अध्यक्ष केसीले बताएका छन् ।

मान्द्रेढुंङ्गाबाट प्याराग्लाइडिङ उडान हुन थालेको करिब दुईवर्ष भइसक्यो । तर पर्यटकहरूले सोझै आकाशमा पहिलाजस्तो प्याराग्लाइडिङ उडिरहेको नदेख्ने भएका कारण पनि प्याराग्लाइडिङ गर्ने पर्यटक घटेको हुन सक्ने पाइलटहरूको बुझाई छ ।

यस बीचमा पाइलटहरूले पोखरामा अन्तराष्ट्रिय उडान अवतरण नियमित नभएसम्म सराङकोटबाट नै उडान गर्नुपर्ने माग पनि राखेका थिए । अध्यक्ष केसीका अनुसार हाल हवाई खेलकुद संस्थान ना ले सराङकोटबाट उडान गर्ने बारेमा नागरिक उड्यन प्राधिकरणसँग छलफलसँगै प्राविधिक परिक्षण गर्ने काम भइरहेको बताए ।

कोरोना कहरका कारण थलिएको प्याराग्लाइडिङ विमानस्थल आइसकेपछि झनै खुम्चिएको युवा प्यारापाईलट राजेश गिरीको समेत बुझाई छ । पोखरेली जनताले जस्तै प्यारापाईलटले पनि आशा राखेका थिए कि पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटकले पोखरा भरिनेछन् । तर जस्तो सोचेको थियो त्यस्तो नभएको पोखरामा प्याराग्लाइडिङ उडान गर्दै आएका प्यारापाईलट हरि बास्तोला बताउँछन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुईवर्ष पुग्न लागिसक्दा पनि हालसम्म मुस्किलले सातवटा मात्रै अन्तर्राष्ट्रिय उडान भएका छन् । यसबाट समग्र पोखरेलीका साथमा प्याराग्लाइडिङ पाइलटहरू पनि निराश छन् ।

प्यारापाईलट बास्तोला भन्छन्, “हामीले त बडो आशा राखेका थियौँ नि अब पोखरामा अन्तराष्ट्रिय विमान उड्ला, पर्यटक आउलान् प्याराग्लाइडिङ पनि पुरानो लयमा फर्केलान् तर हामी निराश छौँ ।” उनी थप्छन्, “अहिले पोखराको आकाशमा न प्लेन उडेको देखिन्छ न प्याराग्लाइडिङ ।” ठाउँ परिवर्तन भएपछि पुरानो लयमा फर्कन नसकेको प्याराग्लाईडिङलाई नेपाल हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङ उडानका लागि समयका आधारमा फरक फरक शुल्क तोकिदिएको छ ।

नयाँ तोकिएको प्याराग्लाइडिङ उडान दर अनुसार १५ देखि ३० मिनेटसम्म संस्थागत शुल्क ७ हजार ५ सय र अधिकतम बजार शुल्क ८ हजार ५ सय रुपैयाँ तय गरिएको छ । भने ३० मिनेटदेखि १ घन्टासम्म कम्पनी शुल्क ११ हजार २ सय ५० र अधिकतम शुल्क १२ हजार ७ सय ५० रुपैयाँ तय भएको छ । शुल्क निर्धारणसँगै हाल पाइलटले प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत रकम प्राप्त गरिरहेका छन् ।

पोखरामा विगत १० वर्षदेखि प्याराग्लाइडिङ उडान गर्दै आएका पाईलट मनोज अधिकारी सुस्ताउदो पर्यटनलाई यो शुल्क अनुकुल भएपनि पाईलटहरुका लागि भने निकै कम भएको बताउँछन् । उनी भन्छन्, “हामीले आजभन्दा १० वर्ष अगाडी पनि एक सय डलर लिने गरेका थियौँ, सुस्ताउँदो पर्यटनलाई केही राहत भएपनि यो शुल्क हाम्रोलागि उपयुक्त भने छैन ।” अर्का प्यारापाईलट राजेश गिरी थप्छन्, “पाईलटका लागि यो शुल्क अत्यन्तै न्युन हो, हामीले प्रत्येक फ्लाईटमा जोखिम मोलेर उडान भरेका हुन्छौँ, कुनैपनि बेला दुर्घटना हुन सक्छ तर त्यसपछि पाईलटका लागि कुनैपनि व्यवस्था छैन त्यसकारण पनि यो शुल्क निकै कम हो ।” नेपाल हवाई खेलकुद संस्थान ना मा हाल ६० वटा कम्पनी आबद्ध छन् भने पोखरा र आसपासमा ४९ वटा कम्पनीले नियमित उडान गदै आएका छन् ।

तोरीपानी र मान्द्रेढुंगाबाट उडान गर्नुपर्दा खर्च बढेको व्यवसायीहरुको गुनासो छ । यसका लागि पर्यटन व्यवसायिहरुका छाता संस्था तथा स्थानीय सरकारले पनि पोखराको प्याराग्लाईडिङबारे थप चासो देखाउदै प्रचारप्रसारमा जोड दिनुपर्ने पाइलटहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्