२०८२ बैशाख ४
९८५७६५०३३४, ९८५७६५००९३

पोखरा नमुना नगर सभा आजदेखि सुरु

“समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने नारासहित पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा नमुना नगर सभा २०८१ चैत्र २६ गते नयाँ गाउँस्थित इको रिसोर्टमा उद्घाटन गरिएको छ।

कार्यक्रम पोखरा युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको थियो भने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको प्रमुख आतिथ्यमा गमलामा पानी राखेर उद्घाटन गरिएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा वडा नं. १८ का अध्यक्ष शिव प्रसाद तिमिल्सीना उपस्थित थिए। अन्य अतिथिहरुमा पोखरा व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा महानगर प्रमुखको सचिवालय प्रमुख पूर्ण लामा, नगर युवा परिषद्का कार्यकारी सदस्य कृतन वाग्ले, विष्णु माया सुवेदी, सदस्यहरू सरस्वती पुरी, मिलन पौडेल, सुवास अधिकारी, विवेक तिमिल्सीना, नेपाल पत्रकार महासंघ मुस्ताङका सचिव आदित्य रसाइली तथा नेपाल न्युज बैंकका संवाददाता सबिन सुनार सहभागी थिए। सभामा प्रमुख प्रशिक्षक विवेक त्रिपाठी र प्रशिक्षक मानवराज बराल रहेका थिए।

नमुना नगर सभामा प्रत्येक वडाबाट दुई–दुई जना प्रतिनिधि गरी ६६ जना युवाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले दिएका थिए। उनले युवाको सक्रिय सहभागिता नै गौरवको विषय भएको उल्लेख गर्दै सुन्दर नगर पोखरालाई विकसित बनाउन अबको दायित्व युवाहरूको काँधमा आएको बताए। युवालाई सक्षम नेतृत्व विकासको दिशामा तयार पार्न नमुना नगर सभाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

विशेष अतिथि वडा अध्यक्ष तिमिल्सीनाले युवालाई वडास्तरमै भेट्न मुस्किल भईरहेको समयमा परिषद्ले वडा नं. १८ मा युवालाई जम्काभेट गराउने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे। युवाहरू स्वभावतः कर्मठ र लगनशील हुने भए पनि असल नेतृत्वका लागि असल अभ्यास आवश्यक हुने कुरा जोड दिँदै उनले युवाको भूमिकालाई महत्वपूर्ण बताए।

नमुना नगर सभा तीन दिनसम्म नयाँ गाउँ इको रिसोर्टमा आवासीय रूपमा सञ्चालन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्