मंसिर,१२जोमसोम/घरपझोङ गाउँपालिकाको आयोजनामा वडा नं२को मार्फामा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना तालिम सम्पन्न भएकाे छ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिता,महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’भन्ने नाराका साथ सुरु भएकाे अभियानको तेश्रो दिन मार्फामा लैङ्गिक हिंसा संम्वन्धि २ दिने तालिम गरिएकाे हो। मार्फा सामुदायिक भवनमा भएको कार्यक्रममा घरपझोङ गाउँपालिका २का वडाध्यक्ष मानबहादुर हिराचनले,लैङ्गिक हिंसा न्यूनिकरणका लागि महिलाहरुको आर्थिक शसक्तिकरणलाई जोड दिनुपर्ने कुरा बताए। घर तथा छिमेकमा हुने महिला बिरुद्धको जुनसुकै हिंसाको घटना बाहिर ल्याउन नसकेको खण्डमा त्यसले झन अपराध गर्नेको मनोबल बढ्ने हुदा जति सक्यो हिंसाका घटना सार्वजनिक गर्न अनुरोध गरे ।
उक्त तालिममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे र जिल्ला महान्यायाधिवक्ताको कार्यालय मुस्ताङकी निमित्त कार्यालय प्रमुख विन्दु कुमारी रावलले घरेलु हिंसा सम्बन्धी कानुन,फौजदारी कसुर,बाल अधिकार,नागरिकता सम्बन्धीको व्यबस्था,बोक्सीको आरोप सम्बन्धी व्यबस्था,देवानी कानुन सम्बन्धी व्यबस्थाकाे बारेमा सहजिकरण गरेका थिए।
अभियान अन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।तालिममा वडासदस्यहरु,आमा समुहका सदस्यहरु गरी ३५ भन्दा बढी सहभागि रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्