मंसिर २१ जाेमसाेम/भेडापालनबाट राम्रो आम्दानी हुने देखेपछि पछिल्लो समय युवा पुस्तामा विदेश जानुभन्दा यहीँ बसेर व्यवसाय गर्ने सोच बढ्न थालेको छ । थासाङ गाँउ पालिका वडा नं ५ कुन्जोका कबिन्द्र परियार पछिल्लो समय व्यावसायिक भेडापालनमा लागेका छन् । उनी संग हाल ४७वटा भेडा रहेका छन् हाल उनकाे दैनिकी भेडाहरूकाे रेखदेख गरेर बित्ने गरेकाे उनले बताए ।
भेडापालनका लागि जिल्लाको वातावरण उपयुक्त तथा पर्याप्त मात्रामा घाँसे मैदानहरु रहेकाले अन्य पशु भन्दा भेडा पाल्न सजिलो र छोटो समयमै राम्रो आम्दानीसमेत दिने परियारले बताए उनले भने,श्रम अर्थात व्यवसाय गर्न कुनै पनि सजिलो भने छैन तर श्रमलाई सम्मान र आफूले गरेको पेशा तथा व्यवसायमा आत्म सन्तुष्टि लिन सक्नुपर्छ दश जोड दुई अध्ययन गरेका उनले बाबु आमाको भने छोरा सरकारी जागिरे होस् भन्ने चाहना रहेपनि त्यस विपरीत आफू भेडापालन व्यवसायमा लागेको कबिन्द बताउँछन्। भेडापालन व्यवसायबाट आएको आम्दानी घर खर्चमा ठिक्क हुने उनले भने।
जिल्लामा एउटा भेडाको साँढ रु ३० हजारसम्म,मासु प्रतिकेजी रु आठ सय,ऊन प्रतिकेजी पाँच सय रुपैयाँसम्म र घ्यू प्रतिकुरुवा चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।जिल्लामा उत्पादित भेडाको साँढ, ऊनबाट बनेका विभिन्न प्रकारका साम्रगी र घ्यू जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । भेडाको घ्यू औषधिजन्य प्रयोजनमा समेत उपयोग गर्ने गरिन्छ ।जिल्लामा भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्थामा पछिल्लो समय युवा पुस्ताले यस व्यवसायलाई व्यावसायिक रुप दिन थालेपछि आशा जागेको छ ।
थासाङ गांउ पालिकाका कृषि शाखाका प्राबिधिक राजन श्रेष्ठका अनुसार परम्परागत प्रणालीमा पालिँदै आइएको भेडापालन व्यवसायलाई युवापुस्ताले आधुनिक रुप दिएका छन् । उनीहरुले भेडाका लागि भेडीचोक,भेडा तथा आफू बस्ने ठाउँ सुधार, भेडाका लागि आवश्यक औषधि उपचारको व्यवस्था, नश्ल सुधार उन्नत जातका पाठापाठी उत्पादन गर्न अपनाइने विधि तथा भेडाको बीमासमेत गर्ने गरेका छन् । यतिमात्र नभई उनीहरुले व्यावसायिक भेडापालन गर्दा अपनाउनुपर्ने विधि तथा सावधानी लगायतका विषयमा विज्ञबाट सुझाव समेत लिने गरेका छन्
कृषि तथा पशुपालन पकेट क्षेत्र विकासका लागि गाँउपालिकाकाबाट चालु आर्थिक वर्षमा खर्च गर्ने गरी ७ लाख रूपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । गाँउपालिकामा ५ जना कृषकहरू व्यावसायिक भेडापालनमा लागेकाे गाँउपालिका प्राबिधिक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्