२०८१ पुष १२
९८५७६५०३३४, ९८५७६५००९३

प्रतिवेदन अनुसार यती एयर दुर्घटनामा मानवीय त्रुटि

 

पोखरा/ गएको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको जाँचबुझ आयोगको निष्कर्ष छ  ।

दुर्घटनाको मुख्य कारण जहाजका दुवै इन्जिनका प्रोपेलर (पंखा)हरु फेदर (९० डिग्री)मा गएको देखिएको छ । दुर्घटना जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार ‘कन्डिसन लिभर’लाई फेदर पोजिसनमा लैजादा इन्जिन चालु अवस्थामै रहन्छ, तर, त्यस अवस्थामा हावासँगको एंगल मिलाएर जहाजलाई अगाडि धकेल्ने क्षमता घट्छ ।

फेदर पोजिसनमा गएपछि ४९ सेकेन्डसम्म उडेको जहाज त्यसपछि भने कोल्टे मार्दै जमिनमा बजारिएको थियो । यो हुनुमा पाइलट इन कमाण्डले इन्जिनको इन्डिकेसनतर्फ ध्यान दिन नसकेको जाँच प्रतिवेदनको निष्कर्ष छ ।

 

प्रतिवेदन अनुसार पाइलटले ‘फ्लाप लिभर’लाई ३० डिग्रिमा तान्नु पर्ने थियो । तर जहाज उडाइरहेका पाइलटले ‘कसिन्डसन लिभर’लाई तानेर फेदरमा पुर्‍‍याए । एटीआर जहाजको ककपिटमा फ्लाप लिभर र कसिन्डसन लिभर सँगै हुन्छन् । यसरी पाइलटबाट गल्ती हुनुमा गलत नियत ‘इन्टेन्सन’ भने कतै पुष्टि नहुने जाँच आयोगको निष्कर्ष छ ।

जाँचबुझ आयोगले ६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको विमान दुर्घटना मानवीय त्रुटिका कारण दुर्घटनामा परेको प्रतिवेशन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई बुझाएको छ । आयोगले ८ महिना लगाएर प्रतिवेदन तयार पारेको हो ।

जाँचबुझ आयोगमा पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजक थिए भने हवाईविज्ञ एवम् नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापा सदस्य रहेका थिए । आयोगको सदस्यसचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका थिए । यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरास्थित सेती खोँचमा खसेर दुर्घटना भएको थियो । जहाजमा चालक दलको नेतृत्व क्याप्टेन कमल केसीले गरेका थिए भने सहचालक अञ्जु खतिवडा मुख्य चालकको सीटमा थिइन् । उनीहरु दुवै यो संसारमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्