पोखरा । पोखरास्थित सरस्वती सेकेन्डरी बोर्डिङ स्कुलले थाईल्याण्डमा सम्पन्न हाप्किडो वर्ल्ड च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेर रजत पदक विजेता ईमा थापा मगरलाई प्रशंसापत्रसहित सम्मान गरेको छ ।
गत अगस्ट १ देखि ४ तारिख सम्म थाईल्याण्डमा भएको हाप्किडो च्याम्पियनसिपमा सरस्वती सेकेन्डरी बोर्डिङ कक्षा ८ मा अध्ययनरत ईमा थापाले नेपालको प्रतिनिधित्व गर्दै रजत पदक जितेकी थिईन् । प्रतियोगीता सकेर नेपाल फर्किएकी ईमा थापालाई विद्यालयले शुक्रबार सम्मान गरेको हो । हाप्किडो एक कोरियन मार्शल आर्ट्स खेल हो। यो खेल विशेष गरेर आत्मरक्षाको लागि खेलिन्छ । हाल नेपालभर र विशेषगरि गण्डकी प्रदेशमा हाप्किडो खेल विकास हुँदै गईरहेको छ भने खेलाडीहरुले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा मेडलहरु प्राप्त गर्दै आएका छन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल दुर्गा बहादुर थापाले ईमा थापा सरस्वती स्कुलको मात्र नभई सिङ्गो राष्ट्रले गर्व गर्न लायक खेलाडी बनेकोप्रति खुशी व्यक्त गरे।
यसैबीच विद्यालयले भदौ महिनामा भएका विविध अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई शुक्रबार नै मेडलसहित पुरस्कृत गरेको छ । बुक फ्री फ्राईडे अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार हुने खेलकुद लगायत विविध प्रतियोगीताहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विद्यालयले हरेक महिनाको अन्तिम शुक्रबार पुरस्कृत गर्दै आएको छ ।
विद्यालयका प्रिन्सिपल थापाले स्कोप कास्कीले आयोजना गरेको नृत्य प्रतियोगीतामा सान्त्वना हुन सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्