२०८१ माघ २३
९८५७६५०३३४, ९८५७६५००९३

बाटोमै बच्चा जन्माउन बाध्य छन् हिमालीका महिला

 

बाजुरा । गाउँमा प्रसूति सेवा नहुँदा बाजुराका गर्भवती महिलाहरू बाटोमै बच्चा जन्माउन बाध्य भइरहेका छन्।

यसको एक उदाहरण हुन् जिल्लाको हिमाली गाउँपालिका वडा नं. १ को बामु गाउँकी नानी रोकाया । रोकाया शुक्रबार सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था रहेको बामु आधारभूत स्वास्थ्य सेवा केन्द्र जाऊँ भनेर बाटोमा जाँदै गर्दा सुत्केरी भएकी छन्।

दुई घण्टाको पैदल यात्रामा रहेको उक्त स्वास्थ्य संस्थामा पनि प्रसूति सेवा भने रहेको थिएन । सामान्य सेवा पाइने आशाले व्यथा लागेपछि हिँडेकी रोकाया स्वास्थ्य संस्था लामो दुरीमा रहेकै कारण पुग्न नसकी बाटोमै बच्चा जन्माउन बाध्य बन्नुभएको हो।

रोकाया बाटोमै सुत्केरी भएकी भन्ने खबर पछि हिमाली गाउँपालिका वडा वडा नम्बर १ का वडा अध्यक्ष जोख्या भण्डारी बिछ्या स्वास्थ्य चौकीबाट स्वास्थ्य कर्मचारीको टोलीसहित सम्बन्धित ठाउँ पुग्नु भएको स्थानीय जय भण्डारीले बताउनु भयो । बामु स्वास्थ्य सेवा केन्द्रमा हाल एक जना अहेव कर्मचारी मात्र कार्यरत छन् ।

अहेवबाट प्रसूतिका सेवाहरू नहुने भएकाले गाउँमा गर्भवती महिलाहरू बाटो,जङ्गल,खेतवारी लगायत ठाउँमा बच्चा जन्माउनु पर्ने समस्याले पीडित रहेका बामु स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारी राजेन्द्र रोकायाले बताउनु भएको छ । बिच बाटोमै बच्चा जन्माएको खबर पछि बिछ्या स्वास्थ्य चौकीबाट दुई घण्टा पैदल हिँडेर अनमी टोलीले सुत्केरी भए पछिको आधारभूत सेवा दिएको छ।

गाउँबाट लामो दुरीमा रहेका स्वास्थ्य चौकीमा यातायातको सुविधासमेत नहुँदा गर्भवती महिलाले पाउनु पर्ने आधारभूत सेवा सुविधाबाटसमेत यहाँका महिलाहरू वञ्चित हुँदै आइरहेका छन्। गाउँमा लामो दुरीमा रहे पनि बामु आधारभूत स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा आएको छ। भयोतर स्वास्थ्य संस्थामा आवश्यक कर्मचारी छैनन् ।

बामु स्वास्थ्य केन्द्रमा कर्मचारीका रुपमा अहेव मात्र कार्यरत हुनुहुन्छ। गाउँमा महिलालाई सुत्केरी व्यथा लाग्दा करिब दुई घण्टाको पैदलमा स्टेचरमा बोकेर बिछ्या स्वास्थ्य चौकीमा लिँदै गर्दा बाटोमै सुत्केरी हुने अवस्था हिमालीका गाउँहरूमा निरन्तर कायमै छ।

साभारः रेडियाे नेपाल

प्रतिक्रिया दिनुहोस्